याद छैन,
यो क्षणअघि के थिएँ म,
छायाँ कि सपना, कि समयकै भ्रम ?
मौन बनेर यस क्षणलाई
स्वीकारेँ
न त प्रश्न, न त क्रम।
यो पवित्र यथार्थ,
यो पवित्र अनुभूति,
जहाँ शब्दहरू पनि
घुँडा टेकेर बस्छन्
अनन्तको सामुन्ने,
निरुत्तर, निःशब्द, निहित।
अहिले यहाँ छु
न समयको अघि, न पछि,
यो शरीरले मलाई बाँधिरहेछ,
तर म यो शरीरमै सीमित छैन,
छालामुनि उर्लिँदैछ
अनन्तताको चेतना
यो सबै दुःख
एक भ्रम,
एक क्षणिक चिह्न मात्र।
यो पवित्र यथार्थ,
यो पवित्र अनुभूति।
बाँचिरहेछु,
सास लिइरहेछु
यस क्षणको धड्कनमा
ब्रह्माण्डको ताल भेटिन्छ,
म यसलाई पर्वझैँ मनाउँछु,
जीवनलाई देवताको वरदान ठानी
नतमस्तक स्वीकार्छु।
यो शरीर
मलाई मृत्यु सम्झाउने
एउटा घडी हो,
टिक–टिक गर्दै भन्छ:
“तिमी नश्वर हौ।”
तर म मुस्कुराउँछु,
किनकि म यो क्षण अँगाल्छु,
र क्षणले मलाई
त्यसैले म अनन्त छु।
दुःख?
छायाँ हो।
भ्रम हो।
सत्य त यही हो
यो पवित्र यथार्थ,
यो पवित्र अनुभूति।